लैङ्गिक समानता एवं बालअधिकारको सुनिश्चितताका लागि सरकारी, गैर—सरकारी एवं निजी क्षेत्रका सबै सरोकारवालामाझ सञ्जाल बनाएर सहकार्य गरिनेछ । स्थानीय निकायको नेतृत्व समन्वय समितिको अध्यक्षतालगायत लैङ्गिक तथा बालअधिकारको विकेन्द्रित मूलप्रवाहीकरणका समस्त प्रक्रियामा स्थानीय निर्वा्चित निकायकै नेतृत्व रहने गरी सहजीकरण गरिनेछ ।
विपन्न महिलालाई मौजुदा लैङ्गिक छेकबार पन्छाउन, सशक्तीकरणको प्रक्रियामा सरिक हुन र पछिसम्म आफ्ना हितका पक्षमा स्वविवेकमा निर्णय गरी सिक्दै जान सुबिस्ता होस् भनी महिलामात्रको समूह बनाइनेछ ।
स्वावलम्बन र पारस्परिकताको भावनाले समूह सदस्यको उत्तरोत्तर उन्नतिका लागि सर्वमान्य सहकारी सिद्धान्तअनुसार संस्थागतीकरण गरिनेछ, जसअन्तर्गत छिमेकका समूहलाई क्रमशः वडा अनि गाउँपालिकाको स्तरमा सङ्घीकरण गरेर वडास्तरमा सम्पूर्ण समूह सदस्यको नियमित बैठक बस्ने गरी सहभागिताको मञ्च बनाइनेछ ।
सल्लाहकार समितिमा प्राथमिकता दिनुका साथै लैङ्गिक प्रशिक्षणलगायतका विभिन्न क्रियाकलापमा समूह सदस्य परिवारका पुरुष सहकर्मी एवं समुदायका अरू पुरुष शुभचिन्तकहरूको सहभागिता सुनिश्चित गरिनेछ ।
सशक्तीकरणको प्रयोजनार्थ लक्षित महिलालाई नै कार्यकर्ताको हैसियतमा अघि सार्नुका साथै आवश्यकतामा आधारित छनौटलाई प्रभावित नपार्ने गरी सहायता प्रदान गरिनेछ ।
विपन्न महिलाको सृजनशीलता प्रोत्साहित गरिराख्न स्वतन्त्र स्रोत खोजिनेछ, जसअनुसार ऋण, बचत वा वित्तीय दबाब बढी भएका अन्य स्रोतभन्दा अंशधन, बीउपुँजी वा वित्तीय दबाब घटी भएका अन्य स्रोतलाई प्राथमिकता दिइनेछ ।
जोखिममा रहेका विद्यालयविमुख किशोरीलाई भावी समूह सदस्यको रूपमा हेरी महिला समूहसँग गाँसेर किशोरी वृत्त बनाइनेछ ।
स्वरोजगारीलाई विपन्नताको निकास मानी विपन्न महिलामा केन्द्रित भएर व्यावसायिक समूह विकास गरिनेछ ।
प्राकृतिक स्रोतको जगेर्ना, ऐतिहासिक सम्पदाको संरक्षण, साना पूर्वाधार सृजनाजस्ता रचनात्मक अग्रसरता लिनुका साथै सामुदायिक स्रोतको उपयोग, लैङ्गिक मुद्दामा बहस, सार्वजनिक लेखापरीक्षणलगायतका गतिविधिबाट महिला सशक्तीकरणमा सामुदायिक अंशियारी बढाइनेछ ।
निर्धा्रित सूचकाङ्कका आधारमा लक्षित समूहको संस्थागत विकासको स्तरअनुसार सामाजिक परिचालनमा संलग्नता समायोजन गरिनेछ ।
आर्थिकका साथै सामाजिक पक्षलाई हेरी लक्षित महिलाको विपन्नताको तहअनुसार प्रदत्त सेवा, टेवामा प्राथमिकताको क्रम कायम गरिनेछ ।
एकल, अपाङ्गता भएका, दलित समुदायका महिलालगायत वञ्चितीकरणमा परेका महिलाको छुट्टै समूहीकरण नगरेर मूलधारमै सम्मिलित गरी सामाजिक पुँजी बढाइनेछ।
सामाजिक परिचालनको नियमित प्रक्रियामा पहुँच स्थापना गर्न नसकिरहेका खास अवस्थाका बहुविपन्न महिलाका लागि ससर्त नगद हस्तान्तरण ( Conditional Cash Transfer ) को मान्यतामा सम्बोधक क्रियाकलापहरू छुट्टै पोकाबन्दी गरिनेछन् ।